काठमाडौं, २४ कात्तिक :– विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त हुनुभएकाे छ । ऊर्जा मन्त्रालयले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि शाक्यलाई ‘निमित्त प्रमुख’ रूपमा जिम्मेवारी दिएको हो ।मन्त्रालयले शाक्यलाई वरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको ऊर्जामन्त्री वर्षमान पुनका स्वकीय सचिव दुर्गा चापागाईंले जानकारी दिनुभयाे । शाक्यले आजैदेखि प्राधिकरणकाे पदभार सम्हाल्नुहुने उहाँकाे भनाइ छ ´।
यसअघि तत्कालीन कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको थियो ।यसअघि शाक्य ‘एनइए इन्जिनियरिङ कम्पनी’मा काजमा जानुभएकाेमा ऊर्जामन्त्री पुनले गएकाे शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई काज फिर्ता गराउन निर्देशन दिनुभएकाे थियाे । त्यसगत्तै उहाँलाइ निमित्त प्रमुखकाे जिम्मेवारी दिइएकाे हाे ।
प्रकाशित मिति २०७७ कार्तिक २४ गते सोमबार ०७:५५