काठमाडौँ — भारतले सीमा मिचेको जिल्ला दार्चुलादेखि राजधानीको नाइट क्लबसम्मका चुनावी प्रचारमा दौडिन भ्याएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत मंगलबार अपराह्न राजधानीको बत्तिसपुतलीमा भेटिँदा भावी चुनावी परिणामप्रति निकै आत्मविश्वासी देखिए । प्रधानमन्त्रीबाट बाहिरिएको र आफ्नो पार्टी नेतृत्व चार वटा प्रदेश सरकार ढलेको अवस्थाबाट गुज्रेका उनले अब फेरि बहुमतको सरकार बनाउने दाबी गरे ।
चुनावमा एमाले अझ खस्किने आकलन आइरहँदा ओलीले सत्ता गठबन्धन प्रत्यक्षतर्फ ६५ सिटमा खुम्चिने ठोकुवा गरे । चुनावमा एमालेको स्थिति के हुन्छ, भावी सत्ता समीकरण कस्तो बन्छ जस्ता विषयमा एमाले अध्यक्ष ओलीसँग कान्तिपुरका सुधीर शर्मा र दुर्गा खनालले गरेको कुराकानी
तपाईं चुनावी दौडाहामा दार्चुलादेखि काठमाडौंको एलओडी क्लबसम्म पुग्नुभयो । जनताको अपेक्षा र तपाईंको आफ्नै मूल्यांकन कस्तो रह्यो ?
जनतामा असाधारण उत्साह र लहर छ । एमालेप्रति व्यापक आकर्षण छ । एमाले प्रतिपक्षमा छ तर सत्तापक्षका विभिन्न दल परित्याग गरेर नेता, कार्यकर्ता एमालेमा प्रवेश गरिरहनुभएको छ । यसभन्दा अगाडि यस्तो ‘ट्रेन्ड’ थिएन । एउटा वैचारिक पूर्वाग्रहको स्थिति थियो, वैचारिक अस्पष्टताको कुरा थियो ।
तर, यसपल्ट ‘आइडियोलजिकल प्रेजिड्युस’ हटेको देखिन्छ । एमालेलाई साँच्चै देशभक्त, स्थिरता, स्थायित्व, सामाजिक न्याय, समानताको पक्षमा, भ्रष्टाचारविरुद्ध रहेको, सुशासन र विकासको एउटा अभियन्ताका रूपमा जनताले बुझेका छन् । एमालेका नीतिहरूले जनतामा आकर्षण जगाएका छन् । आन्तरिक हुन् वा बाह्य नीति, छिमेक नीति होस् कि अन्तर्राष्ट्रिय सम्बन्ध, यी सबैमा एमाले सन्तुलित, दृष्टिकोणयुक्त, अडानयुक्त र क्रियाशील छ भन्ने जनतालाई थाहा भएको छ ।
अघिल्लो चुनावका बेला तपाईंले राजनीतिक स्थिरता, समृद्धि र राष्ट्रियताको कुरा उठाउनुभएको थियो । यसपटक घोषणापत्रमा बुँदागत हिसाबले त केही कुरा आएका छन् । तर तपाईंले चुनावी अभियानमा यो मूल मुद्दा हो है भनेरचाहिँ उठाउनुभएको देखिएन नि ?
हामी आकर्षक मुद्दा र नारा फ्याँकेर जनतालाई अलमल्याउने अथवा कुनै झिल्के कुरा गरेर चुनाव जितिहालौं भन्ने होइन, देश बनाउने उद्देश्यमा छौं । त्यसका लागि बहुमत ल्याउने, सरकार बनाउने उद्देश्यमा छौं । त्यसकारण संक्षिप्तमा समग्रताका कुरा गर्दा एउटा चीजमा ‘फोकस’ गरेन भन्ने लाग्या होला । हामीले फोकस गरेका छौं– २० वटा ग्यारेन्टी । महाभारतको एउटा कथा छ– कृष्णले मख्खन खाए भनेर आमाले गाली गर्दा कृष्ण मुख बन्द गरेर चुपै लागेर बसे । आँ गर, मुखमा हेर्छु भन्दा बालक कृष्णले मुख आँ गर्दा विश्वरूप देखिएको थियो । २० वटा ग्यारेन्टीभित्र देश विकास, सुशासन, सुरक्षा सबै पक्षको राष्ट्रिय विकासको खाका देखिन्छ– त्यो विश्वरूप भनेजस्तै । त्यहाँ आवश्यक प्रतिबद्धता सबै छन् ।
अहिले दलका नेताहरू पुराना भइसके, नयाँ पुस्ता आउनुपर्यो भन्ने आम माग छ । यसबारे के भन्नुहुन्छ ?
कुनै देशमा प्रणाली बसिसकेको अवस्थामा एउटा कुरा हो । त्यस्ता देशमा प्रहरीले आफ्नो काम प्रक्रियाअनुसार गर्छ । कानुन, नियम हुन्छन् । कर्मचारीतन्त्र स्थायी, सक्षम, निष्पक्ष र दह्रो हुन्छ । हाम्रो देशमा यी सबै कुरा भइसकेका छैनन् । काम गर्ने प्रणाली नै बसिसकेको छैन ।
फेरि, देशहरूका आ–आफ्नै प्रणाली हुन्छन् । जस्तो– कुनै देशमा जतिपल्ट पनि प्रधानमन्त्री हुन पाइन्छ, कुनैमा पाइँदैन । त्यहाँको सामाजिक संरचनाले त्यसलाई तय गर्छ । अमेरिकामा दुईपल्टभन्दा बढी राष्ट्रपति हुन पाइँदैन । कतै एकपल्ट न्यायाधीश भएपछि बाँचुन्जेल भएकै भयै हुन्छ । अनुभवी मान्छे चाहिँदैन भन्ने होइन रहेछ । त्यहाँ सिनेट बलियो छ, कंग्रेस बलियो छ । सिनेटमा उहिलेदेखिका मान्छे छन् ।
तपाईं थिति बस्यो भने कार्यकारी पदमा २ पटकभन्दा बढी बस्न नपाउने व्यवस्थाको पक्षमा हुनुहुन्छ त ?
अवश्य पनि । त्यो थिति बसाउन सकिन्छ । देशको लाचारी के भने नसके पनि, जेसुकै भए पनि त्यही मान्छे राखिरहनुपर्ने । दोहोर्याएर, तेहर्याएर पाँचपल्ट पनि बनाउनुपर्ने, केही गर्न नसके पनि । यो लाचारीबाट त देशलाई मुक्त गर्नुपर्छ । ली क्वान यूले कसरी सिंगापुरलाई ‘लिड’ गरे ? राम्रो त ६–६ महिनामा फेर्न पाए नयाँ–नयाँले पालो पाउँथे होला नि ! तर त्यसो गर्दा नीति कति मजबुत हुन्छ ? त्यसको कार्यान्वयन कति हुन्छ ? त्यसमा कस्तो नेतृत्व विकास हुन्छ ? देश चलाउने, विकास गर्ने कुरा कुनै लहडबाजी, ‘म्युजिकल चेयर’ को खेल हो र ? कुर्सीको छेउमा जो पुग्यो, थ्याच्च बसिहाल्ने ?
हाम्रो जुन संरचना छ, त्यसमा त प्रधानमन्त्री बन्ने कुरा म्युजिकल चेयरजस्तै छ नि ?
अब त्यस्तो हुँदैन । यस कुरालाई हल्का, भावावेशको ढंगले लिइएको छ । विषय त्यस्तो होइन, देश चलाउने हो, देशमा सुशासन ल्याउने हो । देशको सेना चलाउने विषय हो । सेना चलाउने विषय ‘भइहाल्छ नि’ भनेजस्तो कुरा होइन । वैदेशिक मामिला चलाउने विषय हो । अन्तर्राष्ट्रिय सम्बन्ध चलाउने विषय हो । यी सबै चीज सञ्चालन गर्न ‘वेट’ पनि पुग्नुपर्छ । अनुभवको ‘वेट’ चाहियो । मान्छेको जनविश्वास आर्जन गरेको हुनुपर्छ । इतिहास हुनुपर्छ ।
मैले भन्ने गरेको छु, युवालाई जहिले पनि प्रोत्साहन गर्छु– आउनुस् न, मैदानमा उत्रिनुस् न । चुनावमा आफ्ना तर्क गर्नुस्, आफ्नो श्रेष्ठता देखाउनुस् । दलीय व्यवस्था भएन भनेर निर्दलीयको वकालत किन गर्नु हुन्छ ? विश्वभरका मान्छे मूर्ख हुन् ? विश्वभर सरकार दलहरूले चलाएका छन् । दलले नै चलाउने हो । दलले उम्मेदवार उठाउँछन्, दलले छान्छ । अमेरिकामा राष्ट्रपति आफैं उठ्दैन, दलले उठाउँछ, ‘प्रोजेक्ट’ गर्छ अनि हुँदै गएर त्यो दलको उम्मेदवार हुन पाउने पनि ‘क्राइटेरिया’ हुन्छ । यहाँ आफ्नै खालका सीमा छन् । नेपाली कांग्रेसले २०५६ सालमा कृष्णप्रसाद भट्टराईजीलाई भावी प्रधानमन्त्री भनेर प्रोजेक्ट गर्यो । अघिपछि त्यसो गर्न सकेको छैन ।
यसपालि त बग्रेल्ती छन् नि सबैले म अबको प्रधानमन्त्री भनेर दाबी गरेका छन् । तपाईंले पनि गर्नुभएको छ नि ?
हैन, मैले गरेको छैन । एमालेले बिलकुल सर्वसम्मतिका साथ हाम्रो पार्टीले चुनाव जितेपछि हाम्रो अध्यक्ष प्रधानमन्त्री भएपछि चलाउने भनेको हो । हाम्रो नेता हाम्रो अध्यक्ष हुने भनेर प्रोजेक्ट गरेको छ ।
अघि तपाईंले प्रधानमन्त्रीको कार्यकाल थिति बसेपछि २ पटक मात्रै राख्ने गरी संविधानमा व्यवस्था गर्न उचित हुन्छ भन्नुभयो । त्यो थिति कहिलेबाट बस्ने ?
अनुभवले बिस्तारै समाजलाई व्यवस्थित गर्दै लान्छ । कहीँ पनि एकैचोटि यी चीज भएका हुँदैनन् । कुनै चीज खेल्न सिक्दै ‘परफेक्ट’ खेलाडी भएको हुँदैन । प्रणाली पनि त्यही हो, देश पनि त्यही हो, सबै चीज त्यस्तै हुन् । तपाईंले धनुकाँण चलाउने विद्या सिक्दा निसानामा लगाउने कि नलगाउने त गफ दिएर हुँदैन नि । तर, कतिपय यस्ता सब्जेक्टिभ कुरा हुन्छन्, जसमा गफ दिए पुग्छ । यस्तो गफले देश चल्ने होइन । देश चलाउनु खेल खेल्नुजस्तो होइन, अलिक गम्भीरै कुरा हो ।
धेरैजस्तो त खेल खेलेजस्तै भइसक्यो, धेरै हेलचक्य्राइँ भइसक्यो भन्ने आम बुझाइ छ नि ?
छँदै छ । अहिलेको गठबन्धन नै हेलचक्य्राइँ हो, खेलाँची हो । यो खेलाँची जस–जसले नगर्नुपर्थ्यो, उनीहरूले नै गरेका हुन् ।
२०७४ सालको चुनावमा तपाईंले बहुमत पाउनुभयो । केन्द्र र चार प्रदेशमा त एमालेकै सरकार थियो । तर पूर्ण अवधि चलाउन सक्नुभएन । जनताले दिएको म्यान्डेटअनुसार नेतृत्व गर्न सक्नुभएन । तपाईंले अरूलाई आक्षेप लगाएर भाग्न मिल्छ ? यसमा तपाईं आफूलाई जिम्मेवार ठान्नुहुन्न ?
तपाईंको प्रश्न उल्टो भयो । पार्टीको चुनावी तालमेल अरूले गराइदिएको, मचाहिँ हेरेर बसेको र त्यसको फल खाएको हो र ? पार्टी एकता अरूले गरेको, मैले फुटाएको हो ? एकता जोगाउन मैले नसकेको ? प्रचण्डजस्तो अस्थिर, स्वार्थकेन्द्रित, आत्मकेन्द्रित मान्छेलाई एक ठाउँमा ल्याएर चुनावी तालमेल गरेर पार्टी एकता गराई आफ्नो मातहतमा राखेर यति चलाउनु सजिलो कुरा थिएन । त्यो कुरा मैले सम्भव बनाएँ । जंगली घोडाको जगर समाती पिठ्यूँ चढेर सवार हुनुजस्तै थियो ।
प्रचण्डको पनि त तपाईंमाथि यस्तै टिप्पणी होला नि– केपी शर्मा ओलीजस्तो एकदमै अप्ठ्यारो मान्छेलाई पनि यसरी साथसाथै लैजान खोजें तर सकिनँ भन्ने !
होला । म त्यो वादविवादमा जान चाहन्न । परिणामले पछि देखाइहाल्छ । यस्तो कुरामा दन्त बझानको अर्थ छैन । मेरो र प्रचण्डको वैचारिक लडाइँ पुरानो हो । प्रचण्डले २०५२ सालमा हिंसा सुरु गर्दा मैले त्यसको विरोध गरें । अहिले संवैधानिक र शान्तिपूर्ण बाटा खुला छन्, जनताका बीचमा जान पाइन्छ, यसो नगर्नुहोस् भनें । उहाँहरूले महान् जनयुद्ध हुन्छ आदि/इत्यादि भन्नुभयो । जनवाद कायम गर्छौं, समाजवाद कायम गर्छौं, आकाशका तारा मात्रै होइन, जून पनि झार्छौं भन्नुभयो । बहसको निष्कर्ष देखियो नि त, कहाँ पुग्यो ? मैले प्रचण्डपथ काम लाग्दैन, जनताको बहुदलीय जनवाद ठीक छ भनेको थिएँ । उहाँहरूले मान्नुभएन । प्रचण्डपथ कहाँ हरायो ? आखिर जनताको बहुदलीय जनवादमै आउनुपर्यो त ।
अहिले देशको अवस्थालाई हेरेर राजनीतिक पार्टीहरू गम्भीर हुनुपर्छ । जस्तो, कतिले सबै नेता उस्तै हुन् भन्दै छन् । यो कांग्रेस र माओवादीले चलाएको कुरा हो । उनीहरू चरम ‘फ्लप’ खाएका पार्टी र नेता हुन् ।
तपाईंलाई आफूचाहिँ फ्लप भएँ भन्ने लाग्दैन ?
मैले यति शक्ति आर्जन गरिसक्न पाएको छैन, जसले देशलाई एउटा भिन्न परिस्थितिमा पुर्याओस् । भिन्न परिस्थितिमा जाने बाटोतर्फ मैले लगेको हुँ, त्यसमा व्यवधान गरे । त्यसमा अदालतसमेत मिल्यो । ‘सेटिङ’ भयो । परमादेश भयो । संसद्को अधिकार खोसेर अन्तैबाट प्रधानमन्त्री हटाउने र नियुक्त गर्ने खालका असंवैधानिक, अलोकतान्त्रिक र असंसदीय खालका क्रियाकलाप भए । त्यसलाई रोक्न सक्ने सामर्थ्य मैले आर्जन गर्न सकिराखेको रहेनछु । अब त्यो गर्न खोज्दै छु ।
संविधानको प्रावधानअनुसार एउटै पार्टीले सरकार बनाउने देखिँदैन । निर्वाचन प्रणालीअनुसार पनि सरकारमा दाबी गर्दा कसै न कसैसँग तालमेल गर्नुपर्ने हुन्छ । कसरी जाने योजना छ ?
कतिपय कुरामा संविधान निर्माताहरूमा पर्याप्त ज्ञानको कमी भयो । हामीले प्रतिनिधि कस्ता छान्यौं भने जो साक्षरसमेत थिएनन् । संविधान बनाउन त्यस्ता मान्छे आए, हामीले ल्यायौं । हामीले त्यस प्रकारको संवैधानिक व्यवस्था गर्यौं ।
निर्वाचन प्रणालीका प्रावधान फेर्नुपर्ने कुरा गर्नुभएको हो ?
हो, कतिपय प्रावधान फेर्नुपर्ने हुन सक्छ । तर, अहिले म ती कुरामा जान चाहन्न । यति बेला व्याख्याका नाउँमा संविधानका प्रावधान फेर्ने, संविधानमा व्यवस्था नभएका कुरा संशोधन गर्ने, परिवर्तन हुने खालका अनेक स्वार्थका कारण यी कुरापट्टि पर्याप्त ध्यान नगएको होला । तर, यथार्थ त्यही हो । त्यसो भएर संविधान रक्षाको प्रश्न महत्त्वपूर्ण छ यति बेला । अहिले दलीय व्यवस्था र दलहरूविरुद्ध जसरी स्वस्फूर्त देखिने तर संगठित अभियान चलाउन खोजिएको छ, त्यसले केही संकेत गरेको छ । त्यसप्रति सजग रहनुपर्छ ।
कस्तो संकेत गरेको छ ?
बहुदलीय व्यवस्था र दलीय प्रणालीकै विरुद्ध आवाज आएको छ । यो स्वतन्त्र ढंगले देखिन्छ तर एउटै आवाज सबै ठाउँबाट आउँछ । त्यसको उद्देश्य के देखिन्छ भने दलहरूलाई बदनाम गर्ने, दलहरूप्रति जनविश्वास घटाउने, कोही केही गर्न सक्दैन यस देशमा भन्ने पार्ने । एउटा ठिटो उभिएर देश बन्ला ? एक जना उफ्रिएर देश बन्ला ? राजनीतिमा लाग्दै नलागेको अनुभवविहीन मान्छेलाई देश, प्रशासन, संसदीय प्रक्रियाका बारेमा थाहा होला ? संसद् र सरकारका काम कर्तव्य के–के हुन्, सरकार कसरी चल्छ, राज्यका विभिन्न अंगको भूमिका कस्तो हुन्छ, शक्ति पृथकीकरणको सिद्धान्तबारे थाहा होला ? राज्यका अंगहरू आ–आफ्नो क्षेत्रमा स्वतन्त्र हुन्छन्, स्वायत्त पनि हुन्छन् भन्ने कुरादेखि लिएर विश्वको राजनीतिक अर्थतन्त्र आदि कुरा कसरी अगाडि बढेका छन् भन्ने जानकारी नलिई कसरी चल्छ ?
यी सबै जानकारी र अनुभव त राजनीतिमा लागेपछि जान्ने कुरा हैन र ? राजनीतिमा लाग्नु अगाडि नै कसरी थाहा हुन्छ ?
एक जना लाग्यो ठीक छ । अमेरिकामा राष्ट्रपति ‘इन्डिपेन्डेन्ट’ छानिएकै छैन, छानिँदैन । दलकै राष्ट्रपति छानिन्छ । र, ऊ त्यो दल विशेषको हुन्छ । उसका सिनेटर हुन्छन् । त्यो दलका कंग्रेसम्यान हुन्छन् ।
यो चुनावमा स्वतन्त्र व्यक्तिभन्दा दलहरूलाई नै मत दिनुपर्यो भन्ने तपाईंको आग्रह हो ?
हैन, म यसमा अहिले प्रवेश गरिरहेको हैन । तपाईंले अहिले जुन सोध्नुभयो नि, दलहरूचाहिँ यस्ता छन्, उस्ता छन् भनेर । यो होइन । दल र दलीय प्रणालीविरुद्ध यो संगठित ढंगले क्याम्पेन चलाउन खोजिएको छ । बाहिर इन्डिभिजुअल देखाइएको छ । यथार्थ यसो हैन । सबै दल उस्तै छैनन् । सबै नेता उस्तै छैनन् । अनि, यो प्रणाली यहाँसम्म आइपुग्दा कोही पनि केटाकेटीले अहिले मै हुन्छु प्रधानमन्त्री भन्न पाइन्छ ।
निर्वाचनपछि को बन्छ त प्रधानमन्त्री ?
एमालेले भनेको तपाईंले सुन्नुभएको होला ।
तपाईंहरूले कति सिट ल्याउनुहुन्छ, आकलन गर्नुभएको होला नि ?
हामीले मिसन ‘हन्ड्रेट फिफ्टी’ भनेका छौं । १५० सिट ल्याउने उद्देश्यका साथ अगाडि बढेका छौं । बहुमत ल्याउँछौं ।
यो त असम्भवजस्तो लाग्दैन र ?
जनताले भोट दिएपछि कसरी असम्भव लाग्छ ? २७५ मध्ये १५० सिट हामीले ल्याउँदा १ सय २५ सिट त अरूलाई बाँकी नै छ नि । असम्भव कसरी भयो ? जनताले हाम्रो नीति, हाम्रो काम र व्यवहारको हिसाबले हेर्दा पूर्वाग्रही केही तत्त्वबाहेक अरूले अवश्य नै अन्त भोट दिने ठाउँ नै छैन ।
मानौं, त्यो खालको परिस्थिति भएन र तपाईंहरू ठूलो दलका रूपमा आउनुभयो भने गठबन्धन बनाउनुपर्ने, तालमेल गर्नुपर्ने अवस्थामा एमालेको प्राथमिकतामा कुन दल हुन्छ ?
यो गठबन्धन भन्ने शब्दै मलाई मन पर्दैन । मचाहिँ तालमेल मात्रै भन्छु । गठबन्धन भनेको अति नराम्रो कुरा हो । गठबन्धन गर्दा पनि गर्दैनौं । त्यस्तो स्थिति नै आउँदैन । एमालेको बहुमत नआउने हुँदै हुँदैन । अब तपाईंले भनेजस्तै, एकछिन मानिलिऔं, एमालेको बहुमत आएन भने हामी देशभक्त, लोकतान्त्रिक, भ्रष्टाचारविरुद्ध लाग्न मञ्जुर, सुशासनका निम्ति काम गर्न र विकासको अभियानमा हामीसँगै हिँड्न तयार हुने शक्तिलाई साथ लिएर अगाडि बढ्न सक्छौं ।
त्यसमा को पर्छ– पहिले सँगै रहेको माओवादी ? अनि तपाईंहरूबाटै अलग्गिएको नेकपा एस पनि छ ।
नेकपा एस भन्ने छ नि, त्यो त राष्ट्रिय पार्टी नै हुँदैन । अब उसको कति सिट आउँछ, त्यसबारे मैले किन कठोर वचन बोल्ने । चुनाव आउन तीन दिन छ । उहाँहरू गरिखानुस्, चुनावपछि कुरा गरौंला उहाँहरूसँग । व्यक्ति त रहनुहुन्छ नि एक–दुई जना । अहिले उहाँहरू कांग्रेसको पुच्छर पक्रिएपछि बैतरणी तरियो भन्नुहुन्छ । कांग्रेस आफैं त बैतरणी तर्दैन, पुच्छर पक्रनेहरू के तर्नु ? त्यसकारण उहाँहरूको कुरै गर्नुपरेन ।
Source-kantipurdainik
प्रकाशित मिति २०७९ मङ्सिर १ गते बिहिबार १०:५६