काठमाडौं –
नेकपा एमाले सांसद नविना लामाले आफू नेपाली भाषामा कमजोर भएकाले संसद्मा बोल्ने क्रममा अशुद्ध भएको स्पष्टीकरण दिएकी छन् ।बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्ने क्रममा उनले बोलेका केही शब्द गलत उच्चारण भएको थियो । त्यसपछि उनलाई ट्रोल बनाएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
उनले गंगालाल हृदय रोग अस्पतालमा अक्सीजेनेरेटरको अभावमा मुटुको शल्यक्रिया गर्ने काम रोकिएको विषय सदनमा उठाएकी थिइन् । तर कागज हेर्दै लिखित रुपमा आफ्नो धारणा राखेकी लामाले पटक पटक शल्यक्रियाको सहि उच्चारण गर्न सकिनन् ।
उनले लिखित रुपमा पढेको भाषण बच्चाले पाठ पढेको जस्तो देखिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेका छन् ।
उनले अक्सीजेनेरेटरको अभावमा मुटुको शल्यक्रिया रोकिएको छ भन्नुपर्नेमा अक्सीमिटरको अभावमा मुटुको सलानकिरा रोकिएको छ भन्न पुगेकी थिइन् ।त्यहीबारे उनले स्पष्टीकरण दिएकी हुन् । शून्य समयमा बोल्ने क्रममा भाषामा अशुद्ध भएको कुरामा आफूले स्वीकार गरेको उनले बताएकी छिन् ।
उनले भनिन्, ‘म नेपाली भाषामा पहिल्यैदेखि कमजोर छु । मैले अरू बेला पनि बोल्ने लेख़्ने विषयमा गल्ती नै गरिरहेको छु । यो विषयमा सच्याउने कोसिस गरिरहेकी छु,’
साथै उनले आफूले राखेको विषयको गाम्भीर्यतालाई छोडेर केही मिडियाले गलत मनसायले प्रचार गरेको गुनासो गरेकी छन् । तर, आगामी दिनमा आफू सच्याउने प्रयास गर्ने उनले बताएकी छन् ।Source-galaxykhabar
प्रकाशित मिति २०७९ साउन ५ गते बिहिबार ०८:२७