काठमाडौं -:भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख डा. विजय चौथाइवाले नेपाल भ्रमणमा आएका छन्। सत्तारुढ नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा नेपाल आएका चौथाइवालेले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार दुई देशको सम्बन्ध थप मजबुद बनाउने विषयमा भेटमा कुराकानी भएको छ ।
‘महासचिव विष्णु पौडेलको निमन्त्रणामा नेपाल आउनु भएको हाे, त्याे अवसरमा प्रधानमन्त्रीलाई पनि भेट गर्नुभएको हो,डा. राजन भट्टराईले भने, ‘नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने र जनस्तरसम्मको हाम्रो सम्बन्धलाई के कसरी थप सुमधुर बनाउन सकिन्छ भन्ने विषयमै केन्द्रित रहेर कुराकानी भयो।
गतवर्षदेखि नेपाल र भारतबीच सीमा विषयमा विवाद हुँदा दुई देशका नेताहरुबीच पनि संवाद तथा भेटवार्ता केहि महिना रोकिएको थियाे। तर गत अगस्त १५ मा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएपछि भने भारत र नेपालबीच बिभिन्न तहमा आपसी भ्रमण र वार्ताहरु पुनः सुरु भएका छन्। दुई प्रधानमन्त्रीबीच भएको फोनवार्तापछि भारतीय संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गरेका थिए।
त्यसपछि भारतीय विदेश सचिव हर्षबर्द्धन शृंगलाले भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरी नेपालको औपचारिक भ्रमण गरेका थिए। छिट्टै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि भारत भ्रमणमा जाने तयारीमा रहेका छन् ।
प्रकाशित मिति २०७७ मङ्सिर २५ गते बिहिबार ०४:२२