काठमाडौं -: नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको माया लागेमा नेकपा नभइ ओली गुट भन्न आग्रह गरेका छन । जनता समाजवादी पार्टी नेपालद्वारा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। अध्यक्ष नेपाले भने,उहाँ (ओली) लाई माया लागेमा नेकपा ओली गुट भनिदिए हुन्छ । ओलीजीलाई कम्युनिष्ट पार्टी मन नै पर्दैन। कति दिन नेकपा रहने हो ? उहाँ गणतन्त्र, समावेशी, संघीयताप्रेमी हुँदै होइन। तर दुःखपूर्वक उहाँ नै अध्यक्ष हुनुभयो। अनि हामी धुँरूधुँरू रोएर बस्न बाध्य भयौँ।
पार्टी नेता झलनाथ खनालको प्रस्तावमा दुई तिहाइ केन्द्रीय समिति सदस्यबाट सर्वसम्मत आफू नेकपाको अध्यक्ष भएको नेपालको भनाइ छ। नेता नेपालले आफू नेकपाकै अध्यक्ष भएको जिकिर गर्दै आफ्नै समूहमा आधिकारिक नेकपा रहेको पनि जिकिर गरे। उनले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा दुईतिहाइ केन्द्रीय समिति सदस्यले सर्वसम्मत आफूलाई नेकपाको अध्यक्ष बनाएको पनि दाबी गरेका छन्।
ओलीले शक्ति केन्द्रीकरण गरेर तानाशाही बन्न खोजेको नेपालले आरोप लगाए। ‘राष्ट्रिय अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग पनि आफ्नो मातहत राखेर ओलीले तानाशाही हुने लालसा देखाए। तर पनि काम गर्न दिइएन घेराबन्दी गरियो भन्छन’, उनले थपे, ‘आफूखुसी काम गरेर जनतालाई बेवास्ता गरेपछि घेराबन्दी त हुन्छ नै। उहाँलाई सुधार्न घेराबन्दी भएको थियो तर ओलीजी सच्चिने मान्छे नै होइन।’
अध्यक्ष नेपालले ओलीले भ्रष्टाचारलाई बढाउने काममा भूमिका खेलेको दाबी गरे। ‘लोकतन्त्रका लागि लडेका नेतालाई कुल्चिएपछि ओलीको तानाशाही शैलीको विरोध भएकै हो। सच्चिनुहुन्छ कि भनेको सच्याउन सकिएन’, उनले थपे, ‘विपक्षी नेताहरुलाई गाली गरिएको शब्द सुन्नुस् न। उहाँ आलोचना सहनै नसक्ने मान्छे। संसदमा चुनौती आउ सामना गर्ने हो तर विघटन गर्ने प्रावधान छैन।’
एकजनाको सनक र गलत व्याख्याको आधारमा सिंगै मुलुक कुर्बान हुन नसक्ने उनले बताए। ‘एकजनाका लागि मुलुक खाडलमा पर्न सक्दैन’, उनले भने, ‘मञ्चमा मात्रै होइन हामी सडकमा पनि सँगै उत्रिनु जरुरी छ। सबैले सडकमा निस्किएर संविधान, राजनीतिक स्थिरता, संघीयता र समावेशी व्यवस्था जोगाउनुपर्छ।
ओलीको कदम बुढो मर्यो भन्ने होइन काल पल्क्यो भन्ने चिन्ताका रुपमा हेर्नुपर्ने उनले बताए। ओलीका कारण जन्मिएको संकटलाई सबै मिलेर परास्त गर्नु पर्ने मत उनले राखेका छन्। ‘ओलीले संविधान मिचेर निरंकुश-स्वेच्छाचारी कदम चाल्नु भयो’उनले भने,ओलीजीलाई पार्टीले अनुशासनको कारवाहीसहित पार्टीबाटै बर्खास्त गरिसकेको अवस्था छ। उहाँको अधिनायकवादी कदमप्रति आन्दोलन चर्काउँछौं।
प्रकाशित मिति २०७७ पुस २१ गते मङ्गलबार ०६:३९