१४ मंसिर, काठमाडौं -: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्ष मिलेपछि भइगयो भन्ने बुझाइकै कारण पार्टीभित्र समस्या बढ्दै गएको बताएका छन् । उनले अहिलेको समस्यालाई दुई अध्यक्षबीचको मात्रै भनेर नबुझ्न समेत आग्रह गरेका छन् ।
शनिबारको सचिवालय बैठकमा नेकपाका दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) मिल्नुपर्ने भनी महासचिव विष्णुप्रसाद पौडेलले राखेको प्रस्तावको जवाफमा नेता नेपालले भने ‘एकता जोगाउनेबारे कार्यकर्तामा चिन्ता छ, तर समस्या हल गर्न दुई अध्यक्ष मिलेर मात्रै हुँदैन ।
यसअघि पनि दुई अध्यक्ष बीच सहमति गरेर एकता प्रक्रिया अगाडि बढाउने गरिएको थियो । त्यसलाई नेता नेपालले ‘चोचोमोचो’को संज्ञा दिँदै आएका छन् । शनिबार पनि नेपालले अहिले देखिएको समस्या दुई अध्यक्षको मात्रै नभएर पार्टीकै भएको बताएका थिए । ‘पार्टी कमिटीले निर्णय गरेर समस्या हल हुन्छ, कुनै व्यक्तिहरु मिलेर मात्रै हुँदैन’, नेपालको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।
विगतमा माइन्युट च्यात्नेसम्मको काम बैठकमै भएको सम्झाउँदै नेपालले भनेका थिए, ‘बैठकले निर्णय गर्ने भएपछि नेतृत्वले माफी माग्छु भन्दा समेत माफी नदिएर कारबाही गरिएको थिएन ? पार्टी त फुटेको थिएन ।’ अहिले पनि अमूक व्यक्तिको कारण पार्टी नफुट्ने उनको भनाइ थियो ।प्रधानमन्त्रीकै कारण पार्टीमा संकट आएको नेता नेपालले बताएका थिए । ‘बैठक बस्नु पर्यो भन्दा अध्यक्ष (ओली) ले पदलोलुपको आरोप लगाएर पत्र लेख्न मिल्थ्यो ? बैठक बोलाएको भए कुरै सकिन्थ्यो’, नेपालले भनेका थिए । अब पार्टी कमिटीले गर्ने निर्णय दुई अध्यक्षले मान्नुको विकल्प नभएको उनको भनाइ छ ।
नेता नेपालले पार्टीभित्र आफूले नोट अफ डिसेन्ट लेखेको र बहुमतले निर्णय लिएको बिर्सन नमिल्ने बताएका थिए । ‘मैले असहमति जनाएर नोट अफ डिसेन्ट लेख्दा तपाईंहरुले बहुमतको आधारमा निर्णय लिएको होइन ? आज बहुमतले निर्णय गर्न किन नहुने ?’ उनको भनाइ थियो ।गएको साउनमा पनि ओली र प्रचण्ड बीच अनौपचारिक सहमति जुटेपछि नै कार्यदल मार्फत् सहमतिको १५ बुँदे प्रस्ताव तयार पारिएको थियो । जसलाई भदौ २६ मा बसेको स्थायी कमिटी बैठकले निर्णय गरेको थियो ।
प्रकाशित मिति २०७७ मङ्सिर १४ गते आईतबार १०:०६