ओली र सूर्य जहाँ, नेकपा त्यहाँ– कृष्णगोपाल श्रेष्ठ सहि की गलत

ओली र सूर्य जहाँ, नेकपा त्यहाँ– कृष्णगोपाल श्रेष्ठ सहि की गलत

छाँयापाटी

@छाँयापाटी

२०७७ पुस १८ गते शनिवार ०६:४४

काठमाडौं -:  नेकपाले राजधानीमा आयोजना गरेको कार्यकर्ता भेलामा कृष्णगोपाल श्रेष्ठले अपूर्व भाषण गर्नुभएको छ । उहाँले करिब आधा घन्टा भाषण गर्नुभयो । त्यस अवधीमा उहाँले निरन्तर हसाउनुभयो, कार्यकर्तालाई जोशले भरिदिनुभयो । ताली त...

काठमाडौं -:  नेकपाले राजधानीमा आयोजना गरेको कार्यकर्ता भेलामा कृष्णगोपाल श्रेष्ठले अपूर्व भाषण गर्नुभएको छ । उहाँले करिब आधा घन्टा भाषण गर्नुभयो । त्यस अवधीमा उहाँले निरन्तर हसाउनुभयो, कार्यकर्तालाई जोशले भरिदिनुभयो । ताली त कति हो कति खानुभयो ।

नेकपाका उपत्यका इन्चार्ज समेत रहनुभएका कृष्णगोपालले भन्नुभयो प्रचण्डले खडगे भन्नुभयो । म प्रचण्डे भन्न सक्दिन ।प्रचण्डलाई पुष्पकमल दाहाल बनाउन नसकिएको गुनासो उहाँले गर्नुभयो । भन्नुभयो ‘हामीले प्रचण्डलाई पुष्पकमल बनाउन बहुत प्रयास गरेका हौं । अन्तिममा प्रचण्ड नै बनेर जानुभयो ।

‘गत चुनावमा प्रचण्डहरुले पनि सूर्य चिन्ह लिने भएका थिए, अन्तिममा मान्नुभएन । सबैले एउटै सूर्य चिन्ह लिएर प्रदेश र संघको चुनाव लडेको भए परिणाम के हुन्थ्यो ? आज प्रचण्डजी छातीमा सूर्य चिन्ह लगाएर मेरो सूर्य, मेरो सूर्य भन्दै हुनुहुन्छ । सूर्य हाम्रो हो । सूर्य यतै छ’कृष्णगोपालले भन्नुभयो ।  प्रचण्ड सूहले काठमाडौंमा दुर्गन्धित नारा लगाएको चर्चा गर्दै उहाँले भन्नुभयो यस्तै गर्दै जानुस्, धेरै टिक्नुहुन्न । जे कर्म गरिरहनुभएको छ, धेरै दिन पर्खनु पर्दैन, देख्छौं हामी ।

विघटित संसद्बाट देश चल्दैन भन्दै उहाँले महाभियोग लगाएर राष्टपति र प्रधान न्यायधीशलाई हटाउन खोजिएको, प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकमा फाल्न खोजिएको चर्चा गर्दै उहाँले भन्नुभयो– ‘हामी माथि आइलागे, हामी कमजोर छौं र ? हामी बुझ्दैनौं र ? विकल्प भएन, जनताको बीच जाने फैसला गर्यौं ।

प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा हुँदा कांग्रेसले विरोध गरेजस्तो मात्र गरेको तर उसको भित्रभित्रै हड्डी हासेको छ’ उहाँले भन्नुभयो ‘आन्दोलनको कार्यक्रम भन्दै कांग्रेसले १६५ क्षेत्रमा एकैपटक कार्यक्रम गर्नु भनेको चुनावको तयारी गरेको हो ।केपी ओली एकातिर, सारा अर्कातिर छन् । बसाई फरकफरक छ तर प्रहार एक ठाउँ छ, ओलीतिर छ । यो सामान्य हमला होइन । केपी ओलीलाई नै खान आएका थिए । नसकेपछि भागे लाज शरम केही छैन उनीहरुलाई’ उहाँको भनाई थियो ।

रानीपोखरी र धरहरा केपी ओलीले नभएर डकर्मी सिकर्मीले बनाएको झलनाथ खनालको चर्चित भनाई उपर टिप्पणी गर्दै कृष्णगोपालले भन्नुभयो ‘यस्तो कुरा गर्न लाजशरम छैन ? कान खोलेर सुन्नुस्, काष्ठमण्डप पनि बन्दैछ । अब प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै हुनुहुन्छ ।नेकपाको सम्पत्तिमा गिद्देदृष्टि नलगाउ । जनताको सम्पत्ति हो । नेकपाको सम्पत्तिमा कसैले गिद्देदृष्टि लगायो भने राम्रो हुँदैन । पेरिसडाँडा हामीलाई चाहिँदैन’ उहाँले भन्नुभयो ।

अर्काे एक प्रसंगमा कृष्णगोपालले भन्नुभयो ‘फुट्दाको पीडा थाहा पाउन वामदेव गौतमसँग प्रशिक्षण लिन जानुस् ।जहाँ केपी ओली त्यहाँ सूर्य, जहाँ केपी ओली र सूर्य त्यहाँ नेकपा, जहाँ नेकपा त्यहिँ जनता’– उहाँको भनाई थियो ।

प्रकाशित मिति २०७७ पुस १८ गते शनिवार ०६:४४
प्रतिक्रियाहरु